इन्टरनेटको सहायताबाट बङ्गुरपालन

रामपुर (पाल्पा):पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उहाँले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाउनुभएको छ ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभएको हो । विभिन्न पेसा, व्यावसायको खोजीमा रहनुभएका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उहाँ बताउनुहुन्छ । “व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।

कक्षा ७ सम्मको अध्ययन गर्नुभएका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गर्नुभएको हो । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उहाँ बताउनुुहुन्छ । तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उहाँको भनाइ छ ।

सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउनुहुन्छ । यस व्यवसायमा उहाँकी श्रीमती यममाया सारुले साथ दिँदै आउनुभएको छ । श्रीमान्श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लाग्नुभएको छ । अहिले उहाँको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् ।

सारुको दिनचर्या यतिबेला बङ्गुरको रेखदेखमा बित्ने गरेको छ । घरमा उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ । एकवटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारु बताउनुहुन्छ । उहाँले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी बेच्नुहुन्छ । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारुले बताउनुभयो । “बङ्गुर हुर्काएर ठूलो बनाएर मासुका लागि बेच्नुभन्दा साना पाठापाठी (५० देखि ६० दिनका) बेच्दा धेरै फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “पाठापाठी जन्मेपछि खरिद गर्ने ग्राहक प्रशस्त भेटिने भएकाले बिक्री गर्न धेरै सहज, बजार मूल्य राम्रो हँुदा यसबाट राम्रै आयआर्जन गर्न सकिन्छ ।”

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रुपमा पाल्नुभएको हो । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु छ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उहाँको भनाइ छ । ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उहाँ बताउनुहुन्छ । ्

“व्यवसाय गर्न लगानी गर्ने माध्यम नहँुदा समस्यामा परेको बखत रामपुर नगर सरकारले रु छ लाख रकमको दुई वर्षसम्मको ब्याज अनुदान उपलब्ध गराएपछि बङ्गुरपालन थालनी गरेको हो, हामी युवालाई यस कार्यक्रमले हौसला थपिदिएको छ”, उहाँले भन्नुभयो ।

यस व्यावसायबाट श्रीमती, तीनजना छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ । माउ १२ वटा पु¥याउने लक्ष्य छ । हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ । हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन् । बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ–नयाँ कुराको खोजअनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ ।

इन्टरनेटलाई मनोरञ्जन, समय बिताउने माध्यममात्र नभई यसबाट अध्ययन अनुसन्धान गरी समाजमा विभिन्न व्यवसाय, पेसा, उद्यमबाट आयआर्जनको माध्यम बनाउने कार्यमा युवाको आकर्षण बढ्दैछ । कुनै पनि पेसा, व्यवसाय गर्न तालिम, गोष्ठी नै पर्खेर नै लिनुपर्छ छैन, इन्टरनेटबाट आवश्यक कुरा खोज अनुसन्धान गरेर व्यवसाय चलाउनु सकिँदो रहेछ भन्ने समाजमा सारुले उदाहरण प्रस्तुत गर्नुभएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments