सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

त्रिवेणी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

कृषि पेसा गरेका किसानलाई सिँचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोही अनुसार बजेटसमेत व्यवस्थापन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर सिँचाइमा अनुदान दिन लागेको उहाँले बताउनुभयो ।

किसानलाई सिँचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा अनुदान दिन लागिएको नगर प्रमुख भुसालले बताउनुभयो ।

“किसानलाई प्रत्यक्ष रुपमा लागतमा अनुदान प्रदान गर्दै सिँचाइका कारण उत्पादनमा कमी हुन नदिने र उत्पादन लागत घटाउने हाम्रो उद्देश्य हो, सोही अनुसार ५० प्रतिशत अनुदान दिने योजना बनाएका छौँ”, नगर प्रमुख भुसालले भन्नुभयो, “यो वर्ष कार्यक्रम कार्यान्वयन गर्ने गरी लागेका छौँ ।”

कावासोती नगरपालिकाले नगरभित्र रहेका कृषि फार्म, समूह, सहकारीमा रहेका कृषि सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।

नगरभित्र कृषि सिँचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ती सिँचाइ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान नगरपालिकाका तर्फबाट दिइने शाखा प्रमुख कुमालले बताउनुभयो ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा समेत सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेको थियो । गत वर्ष समूह, सहकारी, कृषि फार्मलाई सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेकामा यस वर्ष विद्युत् खपत गरे बापतको शुल्कमा अनुदान प्रदान गर्न लागिएको शाखा प्रमुख कुमालले बताउनुभयो । पचहत्तर प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गर्ने कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका कृषि क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । यस नगरपालिकाभित्र करिब दुई हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन रहेको छ । नगरपालिकाले विभिन्न वडामा फरक फरक बालीको पकेट विकास कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?