परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

उन्नत जातका बाख्रा

बलेवा:जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।

गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७  पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।

जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८/०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो । “किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले भन्नुभयो, “फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ ।”

उहाँका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन् । एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उहाँले बताउनुभयो । व्यावसायिकरूपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा मात्रै १०  व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बङ्गुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन् ।

त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् ।

जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्याङ्क केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र  प्रमुख सापकोटाले बताउनुभयो । “जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ ।” बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । दुई लाख ४९ हजार दुई सय ११ जनासङ्ख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव पाँच लिटर दूध उपलब्ध हुन्छ । अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डामात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?