मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जग्गालाई पनि धितो राखेर कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।

कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, मत्स्यपालन, तथा पशुपक्षी पालन जस्ता कार्यका लागि मोटर नपुग्ने जग्गालाई पनि धितो राखेर ऋण प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा माग भएको सात दिनभित्र निवेदन स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको छ ।

यदि सो समयमा माग गरिएको कर्जाको निवेदन स्वीकृत हुन नसकेमा कारण खुलाइ ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्नेछ ।

यस्तो खालको निर्देशन कुनै बैंक तथा वित्तीय संस्थाले पालना नगरेमा केन्द्रीय बैंकमा गुनासो दर्ता गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments