बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

बेदकोट: वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ ।

महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ ।

“बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।”

महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् । जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन् ।

आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउछिन्। “केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ”, उनले भनिन्, “पानी परेमा बेला–बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ ।”

सुनारको घरमा दुई स–साना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन् । स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन् । “घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ”, स्थानीय बमबहादुर सुनारले भने, “घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्नत्र जान्छौँ ।”

उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन् । महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ । “यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ”, उनले भने, “खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ ।”

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ ।

“सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्”, स्थानीय ऐनबहादुर सुनारले भने, “महाकाली उचो भइसक्यो, हामी होचो भू–भागमा छौँ, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ ।”

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ । “वर्षैँपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ”, उनले भने, “सरकारले हाम्रो पीडा कहिले सुन्छ ?”रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?