मासिक तलब खर्चेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् ।

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए ।

नगर उपप्रमुख राईले वडा नम्बर १ दिक्तेलका १००, वडा नम्बर २ सोल्माका ५०, वडा नम्बर ३ बाम्राङका ५०, वडा नम्बर ४ खाल्लेका ३०, वडा नम्बर ५ लफ्याङका ३०, वडा नम्बर ६ नेर्पाका १००, वडा नम्बर ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नम्बर ९ निर्मलीडाँडाका ३०, वडा नम्बर १३ नुनथलाका ३०, वडा नम्बर १४ बुइपाका ३० र वडा नम्बर १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेका छन् ।

वडा नम्बर ८ दोर्पाचिउरीडाँडा र वडा नम्बर ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नम्बर ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए ।

पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आर्थिक वर्षका लागि १ करोड बजेट समेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताए । ‘निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैंसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौं । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ,’ उनले भने, ‘व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषक समेत उत्साहित भएका छन् ।’

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरूप किसानलाई ४ करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने शर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

१५ वडा रहेको नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् । रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments