अलैँचीको मूल्यवृद्धि भएपछि किसान उत्साहित

धनकुटा: खोल्सीको कालो सुनको उपनामले परिचित नगदेबाली अलैँचीको नयाँ फसलको मूल्यमा आएको वृद्धिले किसान तथा व्यवसायी उत्साहित बनाएको छ ।
नयाँ अलैँची कारोबार हुने सुरु समयमै बजारमा निस्कन थालेको अलैँचीको मूल्य दिनानुदिन बढेकाले किसान तथा व्यापारीलाई उत्साहित बनाएको हो ।
अहिले धनकुटामा नयाँ अलैँचीको स्थानीय मूल्य एकमन (४० किलोग्राम) को ५८ हजार रुपियाँ रहेको किसान तथा व्यापारीहरूले बताएका छन् । प्रायः अलैँची मूल्य विदेशी बजारले निर्धारण गर्ने हुँदा हालसम्म विदेशी बजारमा माग बढेकोले मूल्य बढेको हिलेका व्यापारी श्याम शाहले बताउनुभयो ।
केही वर्षअघि प्रतिमन १ लाख २० हजार सम्म मूल्य पाएका कृषकले गत वर्ष ३० हजार रुपैयाँ प्रतिमन भन्दा बढी मूल्य पाउन सकेका थिएनन् । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार गत वर्ष धनकुटामा ३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।