बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट

टीकापुर: गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो”, उहाँले भन्नुभयो । बाढीले उहाँको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ ।

भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताउनुभयो ।

“नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।”

भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उहाँको भनाइ छ । “कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ”, उहाँले भन्नुभयो ।

बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ । भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ ।

डुबान हुँदा धानबाली पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताउनुभयो । “हरेक वर्ष यहाँका किसानले बाली गुमाउनुपरेको छ”, उहाँ भन्नुहुन्छ, “दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखाँै खर्चिएर खेती गरेकाहरु बाढीका कारण रुनु परिरहेको छ ।”

यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पु¥याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?