बाँदरबाट क्षति रोक्न व्यावसायिक तरुलखेती

पर्वत: गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् ।

बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुलखेती गर्न थालिएको छ । अन्नबाली लगाउँदा लगानीअनुसारको प्रतिफल पाउन नसकेपछि स्थानीय कृषकले तरुलखेती सुरु गरेका हुन् ।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार स्थानीय २० कृषक मिलेर समूह निर्माण गरी तालिम दिएपछि व्यावसायिकरूपमा तरुलखेती सुरु गरिएको हो । बजारको अवस्थाका बारेमा बुझ्दा रातो तरुलको माग राम्रो भएको पाइएपछि ११ क्विन्टल रातो र दुई क्विन्टल सेतो तरुल लगाइएको उनले बताए । सेतो तरुलको तुलनामा रातो तरुलको माग बढी रहेको धितालको भनाइ छ । अहिले झन्डै पाँच सय रोपनीमा तरुलखेती गरिएको उनले बताए ।

बढ्दै गएको बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकले तरुलखेती गर्ने योजना बनाएर यस वर्षदेखि शुरु गरिएको हो । तरुल खेतीका लागि खाडल र मलको जोहो कृषकले गरे भने तरुलको बिउ  गाउँपालिकाले शत प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । गत चैतमा झन्डै १३ क्विन्टल तरुलको बीउ रोपिएको स्थानीय जङ्गबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाले सर्लाहीबाट बीउ ल्याएर कृषकलाई वितरण गरेको थियो । अहिले परीक्षणका रुपमा लगाइएको खेती भए पनि उम्रिएर झाँगिएको र राम्रै फल लाग्ने सङ्केत देखिएको शाहीको भनाइ छ । बाँझो रहेको ठाउँमा तरुल लगाउने र त्यसमा पालिकाले सहयोग गर्ने भनेपछि व्यावसायिकरूपमा तरुल लगाउन कृषकसमेत उत्साहित भएका हुन् ।

आगामी पुस, माघमा तरुल खन्ने बेला हुने र बजारीकरणमा समेत गाउँपालिकाले सहजीकरण गर्ने बताइएको छ । स्थानीय दर्बुडाँडाका डम्बरबहादुर शाहीले सयभन्दा बढी बीउ लगाएकामा सबै उम्रिएर झाँगिएको बताए । पहिलो पटक व्यावसायिकरूपमा लगाएको तरुल खेतीले आगामी हिउँदमा राम्रै प्रतिफल दिएमा क्षेत्रफल विस्तार गर्ने योजना रहेको उनले बताए।

रातो तरुलको बिक्री सहज हुने पाइएपछि गाउँपालिकाले रातो तरुलको बीउ वितरण गरेको उनको भनाइ छ । यामका बेला रातो तरुलको  ९० सम्ममा बिक्री भएको पाइएपछि कृषकलाई सेतोभन्दा रातो तरुल लगाउन आग्रह गरिएको हो । बाँझो जग्गामा एकपटक लगाएर छाडेपछि उत्पादन दिने भएकाले पनि यो खेती सहज हुने पालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र बाँदर आतङ्क बढ्दै गएपछि विकल्पस्वरुप तरुलखेतीमा कृषकलाई आकर्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । उनका अनुसार खाडल तयार पार्ने, प्राङ्गारिक मलको व्यवस्थापनलगायतका काम कृषकले गरेपछि करिब एक लाख २० हजारको लागतमा बीउ व्यवस्थापनको काम गाउँपालिकाले गरेको हो ।

गाउँपालिकाले आव २०७४/७५ देखि २०७७/७८ सम्म बाँदर छोप्ने विज्ञ भारतबाट ल्याएर झन्डै तीन/चार सयको हाराहारीमा बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्जमा समेत पुर्‍ याइको थियो । जति गरे पनि बाँदरको सङ्ख्यामा कमी नआएपछि अहिले उक्त अभियान छाडिएको छ । बरु बाली नै परिवर्तन गर्नुपरेको अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । बाँदरले तरुल खेतीमा कुनै असर गर्न नसक्ने भएकाले सोचेअनुसार प्रतिफल लिन सकिने उनको विश्वास छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments