भदौ पहिलो सातासम्म देशभर ९४ प्रतिशत धान रोपाइँ,सबभन्दा कम मधेश प्रदेशमा

काठमाडौँ: कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार यस पटक ९२ प्रतिशत रोपाइँ मात्र भएको छ । सात वटा प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ ।

अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष ८२ प्रतिशत रोपाइँ मात्र भएको छ । गत वर्ष साउन २८ सम्म ९३ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा चार लाख एक हजार ६५० हेक्टरमा खेती हुन्छ, त्यसमध्ये तीन लाख ३१ हजार १६५ हेक्टरमा मात्र रोपाइँ भएको छ । अर्थात् ७० हजार ४८५ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मधेशमा कम पानी परेका कारण रोपाइँ कम भएको छ । अरू प्रदेशको तुलनामा मधेश प्रदेशमा पानी कम परेका कारण रोपाइँ कम भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । मधेश प्रदेशमा कम रोपाइँ भएका कारण रोपाइँको प्रतिशत कम भएको उहाँले बताउनुभयो ।

सबभन्दा बढी रोपाइँ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको छ । दुवै प्रदेशमा ९९/९९ प्रतिशत रोपाइँ भएको छ भने कोशी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ९५, बागमती प्रदेश ९३, गण्डकी प्रदेशमा ९४ र बागमती प्रदेश ९३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्षभन्दा पाँच प्रतिशत रोपाइँ बढी भएको छ ।

गत वर्षको तुलनामा धान रोपाइँको क्षेत्रफल पनि कम भएको छ । कृषि मन्त्रालयका अनुसार गत वर्ष धानको खेतीयोग्य जमिन १५ लाख चार हजार ९९० हेक्टर थियो भने यस वर्ष १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफल जमिन मात्र रहेको छ । अर्थात् गत वर्षको तुलनामा १६ हजार ९४१ हेक्टर क्षेत्रफल जमिन कम भएको छ । १४ लाख ८८ हजार ४९ हेक्टर जमिनमध्ये १३ लाख ७५ हजार १३४ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस पटक एक लाख १२ हजार ९९५ हेक्टर कम रोपाइँ भएको छ ।

गत वर्षको तुलनामा तीन प्रतिशत कम रोपाइँ भएको छ । विगतका वर्षको तुलनामा गत वर्ष धान उत्पादन वृद्धि भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७८/७९ को तुलनामा ६.९४ प्रतिशतले बढी थियो । धान रोपाइँ कम भएका कारण चालु आवमा धान उत्पादन कम हुने अनुमान कृषि मन्त्रालयले गरेको छ ।

एक त रोपाइँ कम भएको छ, रोपाइँ भएको खेतमा पनि सिँचाइको सुविधा नभएका कारण आकलन गरिएभन्दा कम उत्पादन हुने कृषि मन्त्रालयको अनुमान छ । कृषि मन्त्रालयले ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments