उत्पादनमा वृद्धि गर्न पशुपालक कृषकलाई दुई हजार सुत्केरी भत्ता

नेपालगञ्ज:बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् ।

जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा तीन हजार र कोहलपुर नगरपालिकामा  दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन् ।

“यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झन् यसमा आकर्षण बढ्दै गएको छ”, कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भने । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।

रोकाय भन्छन्, “व्यावसायिक पशुपालन गर्नुभएका कृषकले बढीमा  ५० हजारसम्म र साना कृषकले  दुई हजारदेखि  १० हजारसम्म लैजानु भएको छ, नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै हुनुहुन्छ ।” पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा विसं २०७५ देखि सो कार्यक्रम सुरु भएको जनाइएको छ ।

रोकायले गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि १० लाख छ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिँदै यस वर्ष चार सय गाई र भैँसीका लागि  आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताए । “गत वर्षभन्दा यस वर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भए पनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौँ”, उनले भने ।

जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत वर्ष  २४ लाख २१ हजार वितरण गरेको जनाएको छ । सो पालिकामा आठ सय सात गाई र भैँसीका लागि सो रकम खर्च भएको हो ।

आव २०७८/७९ मा गाउँपालिकाले चार सय १२ गाई र भैँसीका लागि  १२ लाख ३६ हजार पशुपालक कृषकलाई सुत्केरी भत्ताका रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडगबहादुर सिंहले जानकारी दिए। “यस वर्षका लागि छलफल चलिरहेको छ, तर टुङ्गोमा पुगेका छैनौँ”, उनले भने । सिंहले यस वर्षका लागि ३० लाख बजेट प्रस्ताव भएको समेत जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?