धानलाई रोगबाट जोगाउन थारू गाउँमा हरेरी पूजा

कञ्चनपुर:धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ ।

थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा हरेरी पूजा गर्ने परम्परागत चलन रहेको छ । यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने हरियो घाँस काट्न भने पाइँदैन । गाउँका सबै जनाले एक दिन घाँस काट्दैनन् ।

साउनको अन्तिम सातादेखि भदौको पहिलो साता हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघरिया रामप्रसाद डगौराले बताए । उनका अनुसार दुई दिन आयोजना गरिने पूजामा पहिलो दिनको रातभरि गाउँका सबै जनाले अनिवार्य उपस्थित भई वडघरियाको घरमा जाग्राम बस्नुपर्ने हुन्छ ।

त्यस क्रममा रातभरि मादल बजाई नाचगान गरी रमाइलो गरिन्छ । “कोही जोक्कर (सोङग्या) बनेर हसाउँछन्”, डगौराले भने, “कोही परम्परागत गीत र नृत्यमा रमाउँछन् ।” गुरुवा, केशौकाले देवाल बाल्ने कार्य गर्दछन् अर्थात् माटोका तीनवटा दियो बाल्ने कार्य गरिन्छ ।

“बीचको दियोलाई पहिले बाल्छौँ”, वरका गुरुवा फुलराम डगौराले भने, “तन्त्रमन्त्र गर्दै अक्षता हेर्दाहेर्दै एकपछि अर्को गरी दुईवटा बत्ती आफैँ बल्ने गर्दछन्, दियो बालेको पूर्वतर्फको स्थानमा झाँक्री खेल्ने कार्य पनि हुन्छ ।” भोलिपल्ट गाउँका सबैका घरघरबाट दूध सङ्कलन गरी ठूलो भाँडोमा राख्ने कार्य हुन्छ । दूधमा पानी मिसाएर गुरुवाले त्यस भाँडोमा मन्त्र फुक्ने गर्दछन् । पानी मिसाएको मन्त्रयुक्त दूधलाई गाउँका सबै जनालाई पुग्ने गरी बाँड्ने कार्य सुरु हुन्छ ।

सिरु घाँसको बढनी (मुठा)ले दूधलाई खेतमा लगेर चारैतिर छर्कने गरिन्छ । त्यसबाट धानबालीमा रोगव्याधी हटेर हरियो भई बढी उत्पादन हुने जनविश्वास रहिआएको छ । धानबालीमा पानीयुक्त दूध छर्केपछि घर फर्केर रमाइलो गर्ने र मासुभात खाने चलन रहेको जोनापुर गाउँका पूर्व वडघर मनिराम डगौराले बताए ।

“गवारो, सेतो पुतली, गाधि (गन्हाउने) किरा नलागोस्, रोगव्याधी हटेर धानले भकारी भरियोस् भनेर पुर्खौंदेखि यो पूजा चल्दै आएको छ”, उनले भने, “युवा पिँढीलाई पनि परम्परागत संस्कृति सिकाउने कार्य गर्दै आएका छौँ ।”

हरेरी पूजापछि धानको बाला निस्केर गाँधी (गन्हाउने किरा) हाँक्ने चलन पनि थारू समुदायमा रहेको छ । गाँधी हाक्ने दिन गाउँका गुरुवाले एकदेखि दुई जोर गन्हाउने किरा खोजेर खाने गर्दछन् । त्यसले गर्दा धानबालीमा यस किराको प्रकोप नहुने विश्वास थारू समुदायमा रहेको छ ।

गुरुवाले किरा खाने कार्यपछि तान्त्रिक विधि विधानको आयोजना गरी धुप खरिया (एक प्रकारको घाँसको डाँठ)मा बालेर खेतको चारैतिर धुवाँ लगाउने गरिन्छ । यसो गरे धानबालीबाट किरा आफैँ हटेर जाने थारू समुदायका बूढापकाहरु बताउछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?