विद्यार्थीले सामूहिकरुपमा रकम उठाएर व्यावसायिक सयपत्री खेतीतर्फ

तुलसीपुर (दाङ):विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेति गर्दैगरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरु सयपत्री खेतीमा तल्लीन छन् । दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तुलसीपुर–६ गोलौरामा सात कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सयपत्री खेती थालेका हुन् ।

कलेजमा अध्ययनरत पारस न्यौपानेले बिबिएस प्रथम, द्वितीय र चौथो वर्षका ८० विद्यार्थी मिलेर सामूहिक खेती गरिरहेको बताए । “पढाइ किताबी ज्ञान मात्रै होइन, कृषिमा जोडिनु तथा व्यावसायिक बन्नु पनि ज्ञान हो”, उनले भने, “त्यसैले हामी यो कार्यमा सामेल भएका हौँ ।” विद्यार्थीले ‘कर्म पाँच सय ५५’ जातको सयपत्री खेती गरेका छन् ।

सबै विद्यार्थीले सामूहिकरुपमा रकम उठाएर खेती सुरु गरेका हुन् । अहिलेसम्म रु एक लाख २० हजार खर्च भइसकेको विद्यार्थी सिर्जना खड्काले बताए । यसबाट रु छ लाख आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ । हाल चार हजार बिरुवा रोपिएका छन् । ती बिरुवा हेर्नका लागि टोली बनाइएको छ ।

“रोप्ने मात्रै होइन, त्यसमा गोडमेल, पानी चहार्ने काम पनि छ”, खड्काले भने, “त्यसका लागि हामीले टिम बनाएर काम गरिरहेका छौँ ।”

विद्यार्थीलाई पढाइसँगै उद्यमी बनाउन सयपत्री खेतिमा जोडेको कलेज प्रमुख पूर्णबहादुर डाँगीले बताए । “विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिने होइन, हामीले उद्यम पनि जोड्नुपर्छ”, उनले भने, “त्यसैले पनि विद्यार्थीलाई उद्यममा सक्रिय बनाउन यो खेती सुरु गरिएको हो ।” यो कार्यले विद्यार्थीलाई आत्मनिर्भर बन्न मद्दत गर्ने डाँगीको भनाइ छ । सयपत्री बिक्री गरेर प्राप्त हुने आम्दानीबाट कफीसप, पानीपुरीलगायत व्यापार गर्ने लक्ष्य छ । सयपत्रीलाई माला बनाएर बेच्ने उनीहरुको योजना छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?