रैथाने मह किन्न घरमै पुग्छन् ग्रहाक

तुलसीपुर (दाङ):तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो ।

दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उनले वार्षिक  एकलाख कमाई गर्दै आएका छन् ।“हामीले पालेको मौरी स्थानीय जातको हो, यसलाई विकासे मौरीको झै समय पनि दिनुपर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ”, प्रेमबहादुरले भने, “दिनभर अरु काम गर्ने र साँझ, बिहान हेरचाह गरे मात्रै पनि पुग्छ ।”

दसवर्ष अघिदेखि परम्परागतरूपमा चल्दै आएको काठको घारमा मौरी पालन सुरु गरेका उनले सुरुमा दुई/तीन घारबाट काम सुरु गरे, त्यसपछि ४० घारसम्म मौरी पालन गरेका छन् । बीचमा रोग लाग्दा पनि कहिले  घट्ने र कहिले बढ्ने भइरहेको छ । “मैले ४० घारसम्म मौरी पालन गरेँ”, प्रेमबहादुरले भने, “कहिले रोग लागेर ह्वात्तै घट्ने पनि गर्छ, भने कहिले बढ्छ ।”

रैथाने जातको मौरीले आफै मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उनको भनाइ थियो । यसरी प्राप्त भएको मह बजारीकरणका लागि पनि लैजानु पर्दैन । यो मह खोज्दै ग्राहक घरमै आउने गर्छन् । स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको प्रेमबहादुरले बताए ।“यो मह बिक्री गर्न हामी कहिल्यै बजार गएनौँ, ग्राहकहरू खोज्दै घरमै आउँछन् ”,उनले भने,“ वार्षिक एक क्विन्टलसम्म मह उत्पादन हुने भएकाले धेरै ग्रहाकलाई त पु¥याउन पनि मुस्किल पर्छ  ।”

सोही ठाउँका  कमल प्रकाश डाँगीले पनि २० घार रैथाने जातका मौरी पालन गरेका छन्। उनले पनि वार्षिक  एक लाखको हाराहारीमा आम्दानी गर्दै  आएका छन् । प्रतिकिलो  मह  एक हजार पाँचसयका दरले बिक्री हुँदै आएको छ ।

स्थानीय उत्पादन भएकाले यो मह लैजान बुटवल, नवलपरासीबाट मात्रै होइन् भारतबाट समेत आउने गरेको उनले बताए ।“हामीले काठको घारबाट निकालेर मह दिन्छौं”,कमलले भने, “कसैले चाकासहित लैजान्छन भने कसैले उतिबेलै निचोरेर मह लैजान्छन्।” पछिल्लो सयम गाउँ–गाउँमै पुग्ने गरेको विकासे मौरी पालनले रैथाने मौरी विस्तापित हुने खतरा रहेको उनीहरूको गुनासो थियो  ।  रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?