म आफैँ सानोमा कोदो रोपेको छु,नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल

काठमाडौँ: कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाँले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले बाँदर आतङ्कबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गर्नुभयो । उहाँले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरूले रुचि राखिरहेको बताउनु भयो ।  खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य साबित हुनसक्ने बताउनु भयो । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दशक अघिसम्म आम नेपाली जनतको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख श्रोतका रूपमा कोदो रहेको थियो । म आफैँ सानोमा कोदो रोपेको छु, धेरै प्रकार खाएको छु, अहिले क्रमशः घट्दै गएको छ, त्यसलाई फेरि हामीले क्रमशः पुनः स्थापना गर्न खोज्दै छौँ ।

समाजमा खानपानमा जुन खालको परिवर्तन आयो, यो बिचमा, जुन खानपानले स्वास्थ्यको निम्ति लाभ भन्दा हामी बडी गरेको छ, त्यसले पुनः प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ अघि बढ्ने व्यवहार सुरु भएको छ । त्यो धेरै सकारात्मक छ । अहिले जुन खालको कुपोषणबाट हामी पीडित भएका छौँ, जुन हिसाबले पोषण कम भएको पाइन्छ, त्यसमा कोदो प्रवर्द्धन गरी मुख्य खानाको रूपमा प्रयोग गरे लाभदायक हुन्छ ।

नेपालको भौगोलिक हिसाबले पनि पहाडी क्षेत्र कोदो उत्पादनका लागि उर्वर छ, खाद्यान्न वृद्धिको जुन अभियान हामीले भनेका छौँ, त्यसका लागि यो महत्त्वपूर्ण क्षेत्र एउटा हो । जसलाई हामीले मकै र कोदो एकै पटक लगाउन सक्छौँ । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम छ, त्यसमा कोदो उत्पादन बढाउँदा राम्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताउनु भयो । उहाँले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएकाले पनि नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने बताउनु भयो । उहाँले भारतले केही दिनपछि नै जी २० सम्मेलन गरिरहेको  र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि प्राकृतिक कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नेपालको कृषि प्रणाली विकास गर्ने बारेमान छलफल भएको बताउनु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments