हावाहुरीले मकैबालीमा दश करोडभन्दा बढीको क्षति

रुकुम पश्चिम: गत आइतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको मकैबालीमा दश करोडभन्दा बढी क्षति भएको छ । कृषि विकास कार्यालयले तीन दिन लगाएर सङ्कलन गरेको क्षतिको विवरण अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ । 

मकै पाकेर भित्र्याउने बेलामा भएको विपद्को कारण जिल्लामा ठुलो क्षति भएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मीनबहादुर केसीले जनाउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार तीन दिन लगाएर क्षतिको विवरण सङ्कलन गरिएको हो । सोमबार, मङ्गलवार र बुधवार जिल्लाका छ वटै स्थानीय तहमा प्राविधिक र कर्मचारीहरू खटाएर क्षतिको विवरण सङ्कलन गरिएको हो । 

जिल्लाभर कुल तीन हजार ३२५ हेक्टर क्षेत्रफल जग्गामा मकैखेती गरिएकोमा ५२ प्रतिशत जग्गामा रहेको मकैबाली नष्ट भएको छ । सङ्कलित विवरण अनुसार जिल्लामा सबैभन्दा बढी क्षति आठविसकोट नगरपालिका क्षेत्रमा लगाइएको मकैबालीमा भएको छ । उक्त क्षेत्रमा एक हजार २२२ हेक्टर जमिनमा मकै खेती गरिएकोमा ४८.९ प्रतिशत अर्थात् एक हजार ४९३.८९ टन मकैमा क्षति पुगेको छ । 

यसबाट आठविसकोटमा मात्रै तीन करोड ७३ लाख ४७ हजार ३७५ रुपियाँको क्षति भएको छ । त्यसै गरी चौरजहारी नगरपालिका क्षेत्रमा लगाइएको ५९० हेक्टर जग्गामा ५५.४ प्रतिशत क्षति भएको छ । यसबाट ८१७.१५ टन मकै तथा दुई करोड चार लाख २८ हजार ७५० रुपियाँ क्षति भएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिकामा पनि एक करोड ७२ लाख ६७ हजार ९०६ रुपियाँ २५ पैसाको क्षति भएको छ । यहाँ ५६३.८५ हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो भने ४९ प्रतिशत क्षति भएको छ । त्रिवेणीमा मात्रै ६९०.७६ टन मकैमा क्षति भएको बताइएको छ । 

कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकामा ५३५ हेक्टर क्षेत्रफल जग्गामा मकै लगाइएको थियो भने ४९.१ प्रतिशत अर्थात् ६५६.७१ टन मकै क्षति भएको छ । यहाँ एक करोड ६४ लाख १७ हजार ८१२ रुपियाँ बराबरको क्षति भएको बताइन्छ । त्यसै गरी बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार पाँच सय रुपियाँको क्षति भएको छ । 

यहाँ ३११ हेक्टर जमिनमा मकै लगाइएको थियो भने ३३ प्रतिशत अर्थात् २५६.५ टन मकैमा क्षति भएको छ । कार्यालयका अनुसार सानी भेरी गाउँपालिकामा लगाइएकाे १०३.५ हेक्टर जमिनमध्ये ७८.३ प्रतिशत अर्थात् २०२.६ टन मकैमा क्षति पुगेको छ । यहाँ ५० लाख ६५ हजार ३१ रुपियाँको क्षति भएको विवरण सङ्कलन भएको छ ।आजको गोरखापत्र  अनलाइनमा खबर छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?