ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु

त्रिशूली :पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाउँपालिका–५ ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा हिजो(शुक्रबार)संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।

ककनी ‘पिकनिक स्पट’ को रुपमा परिचित उक्त स्थानमा सुरु गरिएको चिया रोपणले पर्यटकीय सम्भावना बोकेका ककनीको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री किरातीले विश्वास व्यक्त गर्नुभयो । “नुवाकोटको ककनी र नगरकोट सुन्दा उस्तै लाग्छ । त्यति मात्रै होइन भौगोलिक दृष्टिकोण, राजधानी नजिकैको उच्च भूभाग, ‘एग्रो एण्ड नेचुरल टुरिजम’ को लागि दुवै स्थान समान हैसियतमा छन् ।” मन्त्री किरातीले भन्नुभयो, “ककनीमा पर्यटकीय गतिविधि चलायमान बनाउन सरोकारवालाबाट माग भएर आउने प्रस्तावमा सरकारको तर्फबाट आवश्यक सहयोग सुनिश्चित गरी ककनीलाई नगरकोट सरह बनाउन प्रतिबद्ध हुनेछौँ ।”

चिया रोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले ककनीमा पर्यटकीय योजना बनाउन केन्द्रीय सरकारबाट आश्वासन पाउने तर, सम्बोधन नहुने गुनासो गर्नुभयो । “ककनी भन्ने बित्तिकै घुम्ने ठाउँभन्दा काठमाडौँको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”

पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाउँपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हरियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?