गाउँबस्तीमै चामल पुग्न थालेपछि चिनो खेती हराउँदै
बाजुरा: बाजुराका विभिन्न ठाउँमा फलाइने पछिल्लो समय चिनोबाली लोप हुँदैगएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदहलगायतका केही ठाउँमा चिनो खेती लगाइने गरिन्छ ।
बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेसँगै ती गाउँबस्तीमै चामल पुग्न थालेपछि चिनो खेती पनि बिस्तारै हराउँदै गएको हो । गाउँबस्तीमा सडकको पहुँच पुग्नु, घर–घरमा चामल पुग्नु, चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो पनि नहुने हुनाले चिनो खेती बिस्तारै घट्दैगएको यहाँका स्थानीयको भनाइ छ ।
बाजुराको हिमाली क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा परापूर्वकालदेखि नै चिनोको खेती लगाउने गरेको पाइन्छ । सामान्यतया चिनोकै नामले चिनिने यस बालीको धानजस्तो बोट र कोदोजस्तो दाना हुने हुनाले कतै–कतै धान कोदो पनि भन्ने चलन छ । यो बाली धानको विकल्पको रूपमा लगाउने गरिन्छ ।
पहिला बाजुराका अधिकांश ठाउँमा चामलको पहुँच थिएन । त्यतिबेला यहाँका स्थानीयले चामलको विकल्पको रूपमा पनि यो खेती गर्नेगरेका थिए । अहिले घर आँगनमै चामल पुग्न थालेपछि चिनो हराउँदै गएको हो ।
