व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

satuwa

भोजपुर:व्यावसायिक सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।

सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ ।

त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको कृषकको भनाइ छ । अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोल उपयुक्त मानिन्छ ।

सुतवा टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ तथा साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा कृषकले व्यावसायिक खेती गर्दै आएका छन् । यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । भदौ, असोजमा फुलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनः पलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् ।  बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानहरुको भनाइ छ ।

सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङका कृषक एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उनको भनाइ छ । “हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ”, उनले भने, “अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, खान पनि सतुवालाई लाभदायक मानिन्छ ।”

विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यहीँ राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किवी खेतीसमेत गरिरहेको उनले बताए । यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै डाँठ दिने गर्दछ ।

सतुवाको बिरुवा प्रतिगोटा  २० देखि एक सय ५० सम्म, सतुवाको बीउ प्रतिकिलो रु एक लाख र गानो प्रतिकिलो  १० हजार देखि १२ हजारमा बिक्री हुने गरेको कृषक मानबहादुर राईले जानकारी दिए । “सतुवाको बीउ तथा बिरुवाको माग धेरै छ”, उनले भने, “सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाबाट समेत बिरुवाको माग हुन्छ, विगतका वर्षहरुमा सुतवा प्रतिकिलो २० देखि २२ हजारसम्ममा बिक्री भयो ।” सतुवा विशेष गरेर भारत र चीन निर्यात हुने व्यवसायी बताउँछन् ।

षडानन्द नगरपालिका–१३ भिरथाप्लाका स्थानीय कृषक पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिक रुपमा नै खेती गर्दै आएको बताए । सतुवा खेतीबाट राम्रो आम्दानी लिने गरेको शेर्पाको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?