काँक्रो खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर:शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु. पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय जातका र वर्णसङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उहाँले घर–व्यवहार सहजरूपमा चलाउनुभएको छ ।

“एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उहाँका अनुसार दुई महिनाको अवधिमै रु.एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उहाँले बताउनुभयो ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्‍याइसक्छाैं”, उहाँले भन्नुभयो, “त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्‍याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उहाँले बताउनुभयो ।

उहाँ काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्नुहुन्छ । काँक्रो र तरकारी खेती गरी वर्षमा रु. १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु. १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्नुहुन्छ । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उहाँले जोड्नुभएको छ ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आउनुभएको छ । दुई बिघा जग्गामा उहाँले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आउनुभएको छ । “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भन्नुभयो, “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताउनुभयो । “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाइ गर्ने किसानमा उहाँको गणना हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा छन् ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताउनुभयो । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्‍याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?