लोप भएको हाटबजार पुनः सञ्चालन

दमौली (तनहुँ):धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हरायो ।

लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर आजदेखि व्यास–३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ । किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर कृषि सामग्री खरिद–बिक्री गर्ने व्यवस्था मिलाउन हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, “दमौलीमा पहिला हाटबजार लाग्यो, बिस्तारै हरायो, एकादशी बजार हराउन थाल्यो, माघे सङ्क्रान्ति मेला हराउन थाल्यो, पुराना परम्परा हराउँदै जान थाले, यसको संरक्षणमा लागेका छौँ ।” हाटबजारले किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर दुवै पक्षले उचित मूल्यमा कृषि सामग्री खरिद बिक्री गर्न पाउने अवसरको सिर्जना गर्ने न्यौपानेको भनाइ थियो ।

किसानले गाउँबाट तरकारी ल्याएर दमौलीका विभिन्न चोक र चौतारामा बसेर बिक्री गर्दै आएकामा अब यस ठाउँमा ल्याउने प्रयत्न गरिने उनले बताए । नगरपालिकाले यस ठाउँमा १३ व्यापारिक कक्ष निर्माण गरेको छ । ती कक्ष किसानका लागि निःशुल्क हुनेछन् । हाटबजारको शुभारम्भ गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले युवामय हुँदै गएको नेपाल र प्रविधिमैत्री बन्दै गएको नेपालमा अबको समय अनलाइनको भएकाले यसलाई अनलाइनसँग जोड्न सक्नुपर्नेमा जोड दिए । उनले भने, “यसले गर्दा किसानले सोझै मूल्य पाउन सक्नेछन्, त्यसतर्फ ध्यान दिनुपर्छ ।”

व्यास–५ मा ड्रागन फ्रुट खेती गर्दै आएका कल्पना गौलीले हाटबजारले कृषि उपज सामग्री बिक्री वितरणका लागि सहयोग पुग्ने बताए । तनहुँकै आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक हाटबजार शुभारम्भ गरेको थियो । प्रत्येक शुक्रबार आँबुखैरेनी–३ मा हाटबजार सञ्चालन हुन्छ । त्यहाँ गाउँपालिकाभित्रका बासिन्दाले कृषि उपज बिक्री गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?