बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो

म्याग्दी:

गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।

थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । गत वर्ष १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाखमा ठेक्कामा दिएको बताउनुभयो । राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपालि स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।

“स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,” राजेन्द्र  भन्नुभयो, “बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।” स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल हो ।

यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । “फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,” उहाँले भन्नुभयो “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख-जेठमा वर्षाले बोटमा परागसेचन (पोलिनेशन) हुन पाएनन् ।”

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । “३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ”, प्रमुख बस्ताकोटीले भन्नुभयो, “गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।”

पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उहाँले जानकारी दिनुभयो । बगैँचामा प्रतिकिलो एक सयदेखि एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताउनुभयो ।

मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताउनुभयो । “यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरू रित्तिन थालेका छन्”, उहाँले भन्नुभयो, “नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।”

किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताउनुभयो । “स्याउलाई बजारको समस्या छैन,” उहाँले भन्नुभयो “फलाउन सुक्नुपर्‍यो जति पनि बिक्री हुन्छ ।” धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फले पनि दाना ठुला र स्वादिष्ट रहेको बताउनुभयो । बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उहाँको भनाइ थियो । रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?