पूर्वगाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अन्नपूर्ण (कास्की): बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका हुन् ।

उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्थे । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए ।

यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झे ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उनलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । “पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो”, उनले भने, “पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागे ।”

उनलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको सिद्धान्त छ । “म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु”, उनले भने, “काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।”

धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिन्छन् । उनी दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आएका हुन्। “दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ”, उनले भने, “मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।”

सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उनको योजना छ । “सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ”, उनले भने, “अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।” उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म मूल्य तोकेका छन्।

उनले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्छन् । यो व्यापारबाट एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उनले बताए । “गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिएका थिए । मैले उनीहरुको सेवा पनि गरे”, उनले भने, “अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।” अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उनी पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?