व्यावसायिक गाईभैँसी पाल्ने किसानलाई मासिक १० हजार अनुदान

किसानलाई भैँसी

गुल्मी:

गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।

पछिल्लो समय धेरै किसानको पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेकोे हो । पालिकाभित्र पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिकरुपमा १० हजार अनुदान उपलब्ध गराउने निर्णय भएअनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक १० हजारका दरले अनुदान रकम उपलव्ध गराएको छ । उक्त फार्मले पाँच भन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं-१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं.६ को घिमिरे कृषि तथा पशुपंक्षी फार्ममा नौ र वडा नं.२ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् ।

किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयो । “यसरी व्यावसायिक रुपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।”

पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताउनुभयो । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो । रासस

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments