आयातलाई प्राथमिकतामा राख्दा सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

सुपारी

झापा: कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताउनुभयो ।

“काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भन्नुभयो, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।” उहाँले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटक-पटक राखिसकेको जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आउनुभएका सरेन्द्र साहले बिचाैलियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर बिचौलिया हाबी हुँदा किसान मर्कामा परेका उहाँको भनाइ थियो । झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?