गाईपालनबाट मनग्य आम्दानी गर्दै रुक्मागत

गल्याङ (स्याङजा):

स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारतलगायतका मुलुकमा १२ वर्ष बिताउनुभयो । विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि उहाँ स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्कनुभयो । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरूको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गर्नुभयो ।

उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुर्रा जातका भैँसीबाट व्यवसाय सुरु गर्नुभएका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् । गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुक्तरुपमा ३२ लाखको लगानीबाट सुरु गरिएको थियो । विविध कारणले सहकार्य गर्नुभएका साथीहरूले एक वर्ष नुहुँदै व्यवसायबाट हात झिकेपछि न्यौपाने एक्लैले फार्म सञ्चालन गर्नुभयो ।

“सुरुका दुई वर्ष संयुक्त रूपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “अहिले फार्ममा छ वटा दुहुना, तीन वटा ब्याउने र सात बाच्छाबाच्छी छन् । उहाँले गाईपालाका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाउनुभएको छ ।

एउटा गाईले दैनिक सातदेखि १५ लिटरसम्म दुध दिने गरेको उहाँले बताउनुभयो । दैनिक ५० लिटर दूध उत्पादन गर्दै आउनुभएका उहाँले स्थानीय बजार र तुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूध बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा प्रतिलिटर एक सयका दरले दूध बिक्री भए पनि साना किसान दुग्ध सङ्कलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दुधको मूल्य पर्ने न्यौपानेले बताउनुभयो ।

“दुध बिक्रीबाट मासिक एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुन्छ, खर्च कटाउँदा ४०-५० हजार जति बचत हुन्छ”, न्यौपानेले थप्नुभयो, “विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुसी छु ।” उहाँले गल्याङ नगरपालिकाले दिएको दुधमा प्रतिलिटर १५ अनुदान कार्यक्रमले हौसला मिलेको बताउनुभयो ।

“जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँप कटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुदान पाएको छु”, न्यौपाने भन्नुभयो, “सरकारी निकायबाट राम्रो सेवा सुविधा पाएको छु ।” उहाँले गएको आर्थिक वर्षमा एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर १५ अनुदान अन्तर्गतको रकम पाउनुभएको थियो । न्यौपानेको गाई फार्ममा हाल तीन जनाले रोजगार पाएका छन् ।

श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उहाँको भनाइ छ । “म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ”, न्यौपानेले भन्नुभयो, “लम्पी स्किन रोगले सताए पनि गाईपालामा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।”

श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमानसँग काम गर्न पाउँदा खुसी मिलेको बताउनुभयो । “उहाँ विदेशमा हुँदा कहिले के हुने हो भन्ने चिन्ता हुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो,” कमलाले भन्नुभयो, “अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुख दुः खमा सँगै हुन पाएका छौँ ।” उहाँले गाईपालन व्यवसायबाट आत्म सन्तुष्टि मिलेको बताउनुभयो ।

नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निः शुल्क बिमा, दुधमा प्रतिलिटर १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निः शुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताउनुभयो । उहाँले कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताउनुभयो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?