बिन र डोम समुदाय चाडपर्वलक्षित सामान बनाउन व्यस्त

महोत्तरी:कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका बिन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो, चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौना बनाउन उनीहरूमा व्यस्तता बढेको हो ।

ती पर्वमा यस्ता सामग्री आवश्यक पर्ने भएकाले बिन र डोम समुदाय अहिले यस्ता सामान बनाउन कम्मर कसेर लागि परेका छन् । घर आँगनमा आइपुगेका अतिथिलाई मुखैले शिष्टाचार गरे पनि  प्रकाश मरिक डोमको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै व्यस्त देखिन्छ । माग भएका सामग्री तयार गर्न भ्याइनभ्याइ भएकाले उहाँसहित बस्तीका डोम र बिन समुदायको व्यस्तता बढेको हो ।

भङ्गाहा नगरपालिका-५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रोमा प्रकाश दिनरात डाली, छिटी, नाङ्लो-चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौना बनाउन तल्लीन हुनुहुन्छ । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै सुते पनि बिहान आँखा उघ्रना साथ त्यही चोया र कप्टेरामा हात पुर्‍याउनु परेको उहाँ बताउनुहुन्छ ।

सोही वडाकै सीतापुर बस्तीका पञ्चु बिनलाई पनि अहिले पर्व केन्द्रित चोयाका सामान बनाउन भ्याइनभ्याइ छ । प्रकाश र पञ्चुजस्तै विपन्न बिन र डोम समुदायमा यस्ता चाडपर्वमा आफ्नो सीपले बजार पाउनका साथै आम्दानी पनि हुने भएपछि खुसी छाएको छ । अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा ती समुदायका परिवारका सबै सदस्य व्यस्त देखिन्छन् ।

घरमुलीदेखि पाँच-सात वर्ष उमेर कटेका नानीहरू पनि काममा लागेका देखिन्छन् । अन्य बेला अभावमै बित्ने ती समुदायमा मिठो मसिनो खाने, राम्रा लुगा लाउने र बालबालिकाको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठसँग जोड्ने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद देख्न पाइँदैन” भङ्गाहा-५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रकाश भन्नुहुन्छ–, “स-साना नानीहरूको रहर र चाहना हामीले यही पर्वमा पूरा गर्ने सोच बनाएका हुन्छौँ ।”

अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिका लागि खर्चको जोहो पनि यसै बेला गर्नुपर्ने भएको उहाँको भनाइ छ । चोयाका सामग्री अडर गर्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको माग पनि बढ्ने  गरेको छ । “माय, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहे” (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनुहोला) चोयाका समान बुनिरहनुभएकी बर्दिबास-१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका सात वर्षीय छोरा विरुपा मरिकको माग थियो ।

रामकलीले विरुपालाई दिवालीमै चङ्गा ल्याइदिने आश्वासन दिनुभएको छ । “गरिब छौँ, चाहिँदो खर्चको पनि अभाव छ तर नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका झामलाल मरिक भन्नुहुन्छ, “नानीहरूले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरूको रहर पूरा गर्छौँ ।”

मुलुकमा अवसरबाट पछि परेका सीमान्तकृत गरिब र दलितहरूको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइए पनि त्यस्ता कार्यक्रम ती समुदायसम्म नपुगेको सामाजिक अभियन्ताहरूको टिप्पणी छ । सरकारी कार्यक्रमहरूको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहित अन्य समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा-९ की नेतृ किरण यादव बताउनुहुन्छ । रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?