फूल खेतीमा रमाउँदै किसान

मध्यविन्दु (नवलपरासी):नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा सयम बिताउनुहुन्छ ।

फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गर्नुभएको हो । धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उहाँको भनाइ छ । “पहिलो वर्ष आधा कट्ठा बाँझो जमिनमा फूल लगाएर बिक्री गर्दा रु ४० हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “अर्को वर्ष धान रोप्ने पाँच कट्ठा जमिनमा फूल खेती गर्न थालेको हो, धानभन्दा फूलबाट मनग्य आम्दानी भयो, अहिले निरन्तर फूल नै लगाउने गरेको छु ।”

वार्षिक ३० हजार रुपियाँको धान उत्पादन हुने जमिनबाट अहिले खर्च कटाएर एक लाख रुपियाँ बचत गर्ने गरेको चालिसेले सुनाउनुभयो । “धान त ३० हजारको किन्यो भने वर्षदिनलाई खान पुग्छ, फूल लगाउन थालेपछि आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “बिक्रीका लागि कुनै समस्या छैन्, गत वर्षकै ग्राहकहरूले माग गर्नुभएको छ ।”

तिहार आउन केही दिन बाँकी हुँदा बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ । फूल खेतीबाट किसानले राम्रो आम्दानीसमेत गरेका छन् । जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

कावासोतीका नगरपालिका–९ का ६८ वर्षीय विष्णु पोखरेलको दैनिकी पनि अहिले फूल बगैँचामा बित्ने गरेको छ । बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपक्षी कृषि फर्म दर्ता गरी पोखरेलले फूल खेती सुरु गर्नुभएको हो । उहाँको बगैँचामा तिहारका लागि सयपत्रीसँगै अन्य फूल पनि ढकमक्क फुलेका छन् । “पहिले यो जमिन बाँझो थियो, जग्गा भाडामा लिएर फूल रोप्ने काम ग¥यौँ”, पोख्रेलले भन्नुभयो, “गत वर्षको बजार मूल्यअनुसार यस वर्ष रु पाँच लाख आम्दानी हुने अनुमान गरेका छौँ ।”

कावासोती–९ मा जग्गा भाडामा लिएर स्थानीयले सामूहिक फूल खेती गरेका छन् । ८० हजार रुपियाँको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष पाँच लाख रुपियाँसम्म आम्दानी हुने अनुमान गरिएको बाबुराम केसीले बताउनुभयो । फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्ने उद्देश्यले फूल खेती सुरु गरिएको केसीको भनाइ छ ।

“करिब तीन हजार पाँच सय बिरुवा लगाएका छौँ, एक हजारदेखि दुई हजार माला बिक्री गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष जमिन थप गरी फूल खेती गर्ने सोच बनाएका छौँ ।” गाउँका स्थानीय एकजुट भई निर्माण गरिएको समूहले फूल बिक्रीबाट भएको नाफालाई सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको केसीले बताउनुभयो ।

सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट, कावासोती, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकालगायत क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?