‘चितवनमा चिनीको अभाव छैन’

चितवन:तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्रअनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो ।

कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उहाँले बताउनुभयो । “अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन”, शर्माले भन्नुभयो, “बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ ।” उहाँका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा सुधार आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठूला गोदामको अनुगमन गरेको थियो । जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलाको जस्तो खपत नहुने अनुमान गरेका छौँ । अहिलेसम्म त्यस्तो समस्या आएको छैन ।”

पसलेले संघले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिनुभयो । दसैँको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उहाँले बताउनुभयो । तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ । रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?