बस्तीबस्तीमा ढकमक्क मखमली र सयपत्री, फूलैफूलले रङ्गीयो

भक्तपुर:भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्ती मात्रै होइन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनदेखि बारीसमेतमा लहरै झुलेका मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ रङ्गीचङ्गी बनेका हुन् ।

तिहार नजिकिँदै आएपछि व्यावसायिकरुपमा फूलखेती गर्ने किसानलाई भने यतिखेर मखमली फूल टिपेर माला उन्न र सयपत्री फूल टिपेर मुठा पार्न भ्याइनभ्याइ भएको छ । काठमाडौँ उपत्यकामै सबभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका– ७ गुण्डुका घरघर र टोलटोल यतिखेर ढकमक्क भएका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डु निवासी जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले बताए ।

धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिल जताततै फूलखेतीले ढकमक्क बनेको उनको भनाइ थियो। एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ भने फूल बिग्रिएन भने एकै याममा एक रोपनी जग्गाबाट एक लाखसम्म आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

सूर्यविनायक नगरपालिकाले विगत केहीवर्षयता स्थानीयवासीलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । यसवर्ष स्थानीयवासीलाई सयपत्रीका ४५ हजार बिरुवा वितरण गरिएको उनले बताए।

गुण्डुबाट मात्रै तिहारमा काठमाडौँ उपत्यका, उपत्यका बाहिरका साथै अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, हङकङलगायत देशमा पनि करोडौँको फूल तथा माला निर्यात गर्ने गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

स्थानीयवासी अनिता बस्नेतले तीन रोपनी जग्गामा फूलखेती गर्दा एकै याममा चार लाखसम्म आम्दानी हुने गरेको बताइन् । उनले भनिन्,“मैले सयपत्री साँढे दुई रोपनी र मखमली फूल आधा रोपनी जमिनमा मात्रै लगाएको छु, यसवर्ष नै तीन लाख बराबरको सयपत्री र एक लाख बराबरको मखमली फूल उत्पादन गरेको छु । एक रोपनी जग्गामा मखमलीका पाँच हजारवटा माला उन्न सकिने छ । ”

यसवर्ष एउटा माला कम्तीमा २५ मा बिक्री हुँदा पनि एक लाख बराबरको माला उत्पादन हुने बस्नेतले बताए । विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएकी उनले अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापानमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला २५ मा खरिद गरी २७ मा पठाउने गरेको जानकारी दिईन् ।

मखमली फूल र त्यसका माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई पनि सजिलो भएको स्थानीयवासी मीना नगरकोटीले बताइन। कतिपयले भने आफैँ बजार पु¥याउने गर्छन् भने धरैले गाउँघरमै आउने व्यापारीलाई मखमली र सयपत्री फूल बिक्री गर्दै आएको उनको भनाइ थियो ।

सयपत्री फूल एक मुठाको १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको ६०० मा बिक्री हुँदै आएको छ । स्थानीयवासी एवं जिससका पूर्वउपप्रमुख सरिता कुँवरले विगत दुई दशकदेखि भक्तपुरमा फूलखेती हुदै आए पनि व्यावसायिकरुपमा खेती सुरु भएपछि यहाँका बासिन्दाको मुख्य आयस्रोत फूलखेती बनेको उल्लेख गरिन् ।फूलमा लाग्ने रोगको पहिचान र निदान गर्न सके भक्तपुरबाटै देशलाई फूलमा आत्मनिर्भर बनाउन सकिने उनले जोड दिइन्।

भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, बागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments