लम्पी स्किनबाट पीडित किसानलाई प्रति पशु दश हजारका दरले राहत वितरण

दमौली (तनहुँ):म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ ।

गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु दश हजारका दरले राहत वितरण गरिएको हो । व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सातवटै वडाका किसानलाई गरी कूल तीन लाख ५० हजार राहत प्रदान गरिएको छ ।

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए । उनले भने, “गतवर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौँ ।”

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उहाँका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई उक्त खोप लगाइसकेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?