‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट नुवाकोट र रसुवाका किसान सम्मानित

नुवाकोट – नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद २० हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट ककनी गाउँपालिका २ का अष्ट लाल तामाङ, तिल कुमारी न्यौपाने बिदुर नगरपालिका ५ बाट साथै धनकुमारी गुरुङ शिवपुरी गाउँपालिका १ बाट, ग्याल दोर्जे तामाङ गोसाइँकुण्ड गाउँपालिका ६ बाट, हिरा बहादुर तामाङ उत्तरगया गाउँपालिका  २ बाट, पेम्वा तामाङ नौकुण्ड गाउँपालिका ६ बाट रहेको कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले जानकारी दिनुभयो।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमुना किसान बन्न सुझाव दिनुभयो।

जिल्लाबाट छानिएका किसानलाई बाग्मती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा छनोट हुन पाइनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments