कफीखेतीमा गवारोको प्रकोप

गुल्मी:चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् ।

चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिएको छ । कफीमा पर्याप्त मात्रामा छहारी नहुँदा चिसो मौसममा गवारोले आक्रमण गर्ने गरेको उनले बताए ।

“तुसारो र गवारोबाट जोगाउन कफीका बिरुवा र बोटलाई छहारी दिने खालका रुख तथा बिरुवा लगाउनुपर्छ”, प्रमुख आचार्यले भने ।

कफीखेतीबाट मनग्य आम्दानी हुने हुँदा किसानले कफीखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन थालेका छन् । स्थानीय पालिकाले पनि व्यावसायिकरूपमा कफीखेती गर्ने किसानलाई बिरुवामा अनुदान उपलब्ध गराउने नीति बनाएका छन् । तर छहारी र सिँचाइ अभावमा कफीका बिरुवा जोगाउन मुस्किल भएको किसानको गुनासो छ ।

रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गवारोले सताउने गरेको बताए । तुसारो र छहारीको समस्याका कारण अधिकांश कफीका बोटमा पात पहेँलो हुने र बोट विस्तारै सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ ।

लामो समयदेखि व्यावसायिकरूपमा कफीखेती गर्दै आएका मुसिकोट नगरपालिका–३ का पदमपाणि घिमिरेको समस्या पनि भट्टराईको जस्तै छ । उनको बगैँचामा अहिले सात सयभन्दा बढी कफीका बोट छन् । कफी बगैँचामा गवारोको प्रकोप देखिन थालेपछि घिमिरले प्राविधिकलाई समस्याबारे जानकारी गराएको बताए ।

जिल्ला सदरमुकाम र स्थानीय पालिकामा आयोजना हुने कफीका कार्यक्रममा अधिकांश कफी किसानले गवारो कफीखेतीका लागि मुख्य समस्या भएको भन्दै गुनासो गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गाकुमारी पोख्रेलले जानकारी दिए । केन्द्रले जिल्लामा कफीखेतीबाट कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर किसानलाई बिरुवामा अनुदानका साथै प्राविधिक ज्ञान र सीप उपलब्ध गराउँदै आएको छ ।

किसानले गरेको मेहनतको आधारमा कफीबाट सोचेजस्तो प्रतिफल हात पार्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । कफी किसानले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एउटा ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा फ्रेसचेरी कफीको मूल्य प्रतिकिलो एक सय, ड्राइचेरीको एक सय ५० र पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो पाँच सय रहेको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले समेत जिल्लामा कफीको अनुसन्धानसँगै कफीखेती विस्तारमा काम गर्दै आएका छन् । जिल्लामा एक हजार आठ सयभन्दा बढी किसान र विभिन्न सङ्घसंस्था कफीखेतीमा संलग्न रहेको बताइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?