बागलुङका किसानले फलाए २० करोडको सुन्तला

गलकोट (बागलुङ):बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ ।

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।

“गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौँ, नमुनाकारुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवालगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो”, पुनले भन्नुभयो, “उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औँसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पुर्याउने ज्ञानकेन्द्रको लक्ष्य रहेको छ ।”

बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङलगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादित मध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ । सुन्तला उत्पालनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताउनुभयो ।

“खेतमा लगाइएका सुन्तलाका बोटका जरा कुहिएका छन्, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं”, पुनले भन्नुभयो, “सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।” पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको उहाँ बताउनुहुन्छ । यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको जनाउँदै पुनले रोगसँग सजग भएमा क्रमशः सुन्तला उत्पादन बढ्ने बताउनुभयो ।

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताउनुभयो । बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् । खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै पाँच करोडको सुन्तला बिक्री हुने उहाँले बताउनुभयो ।

“सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ”, खड्काले भन्नुभयो, “पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौँका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ ।” रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?