मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै

मध्यविन्दु (नवलपरासी):नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् ।

सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उनको भनाइ थियो । “तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ”, गुरुङले भने, “हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेका छ ।”

देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले पाँच घारबाट सुरु गरेको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आएका खड्काले पहिलोपटक ८४ केजी मह उत्पादन भएको भन्दै दोस्रोपटक एक क्विन्टल २० केजी उत्पादन भएको जानकारी दिए। “पाँच घारबाट सुरु गरेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पु¥याएको छु । आम्दानी पनि मनग्य भएको छ । अर्को वर्ष ५० घार बनाउने लक्ष्य रहेको छ”, उनले भने ।

देवचुली–९ का जस्मती रानाले मौरीपालन गर्न थालेको तीन वर्ष भयो । दुई घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले १५ घारमा पुगेको रानाले बताए । “मौरीपालनबाट राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो”, उनले भने, “प्रतिकेजी सात सयका मह बिक्री हुन्छ ।”

असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताए । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने गरेको उनले जानकारी दिए ।

थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले झन्डै दुई सय किसान मौरीपालन व्यवसायमा आबद्ध रहेका नेपाल मौरीपालक किसान महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले जानकारी दिए । “जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “जिल्लामा वार्षिक करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।”

यो वर्ष जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढेकाले मह उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कँडेलले बताए । उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै रहेको अध्यक्ष कँडेलले जानकारी दिए । मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको समस्या रहेको उनको भनाइ थियो ।

“स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । दाङ, कपिलवस्तु, प्यूठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ”, कँडेलले भने । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा चरनका लागि समस्या हुने गरेको उनले बताए ।

फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको अध्यक्ष कँडेलको भनाइ थियो । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको किसान बताउँछन् । किसानले फूल खेती गर्न छाडेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?