पशुपन्छी ढुवानी व्यवसायीद्वारा ‘होल्डिङ सेन्टर’को माग

भरतपुर:नेपाल पशुपन्छीजन्य व्यवसायी सङ्घले पशु ढुवानीका लागि ‘होल्डिङ सेन्टर’को व्यस्थापन गरिदिन माग गरेको छ । पूर्वपश्चिम राजमार्गमा आठ/आठ घन्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सङ्घले माग गरेको हो ।

एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याणसम्बन्धी सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा सङ्घले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउन ठाउँठाउँमा होल्डिङ सेन्टर आवश्यक पर्नेमा जोड दिएको हो ।

सङ्घका महासचिव किशोरप्रसाद शर्माले राँगा, भैँसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताए । पशु ढुवानी गर्दा आठ घन्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भए पनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा लैजान कठिन भएको उनको भनाइ छ । नेपालमा पाँच स्थानमा पशु क्वारेन्टाइन भए पनि होल्डिङ सेन्टर छैन ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको चासो देखिँदैन । पशु ढुवानी व्यवसायी वैकुण्ठ बलामीले पशु ढुवानीको मापदण्ड पूरा गर्न भौतिक संरचनामा सुधार गर्नुपर्ने बताए ।

उनले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएकोसमेत बताए । तराईका विभिन्न जिल्लाबाट चितवन हुँदै राँगा भैँसी राजधानी भित्रने गर्दछन् । व्यवसायीले रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउन होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन् ।

चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि तीन करोड ८० लाख समेत विनियोजन गरिएको थियो । तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेन्टाइन चितवनका प्रमुख शिरिष गौतमले जानकारी दिए । होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले दुई लाख ४० हजार बजेट यस बर्षपनि विनियोजन गरेको उनले बताए । तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने सम्भावना रहेको उनले बताए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पशु ढुवानी मापदण्डअनुसार गर्न व्यवसायीलाई अनुरोध गरे । अधिकारीले स्थानीय तहबाट पनि केही कमीकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिए ।

व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशुसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न उनले अनुरोध गरे। एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताए । उनले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?