पशुपालनबाट रोजगारी सिर्जनाको सन्देश दिँदै स्वास्थ्यकर्मी

सुन्दरहरैँचा:मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् ।

उनी सुन्दरहरैँचा–१० मा रहेको सुकुना सामुदायिक अस्पतालको स्वास्थ्य सहायक पदमा कार्यरत छन् । कोइराला विगत २५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका छन् । विगत छ वर्षदेखि पशुपालनमा लागेका उनी अहिले परिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् ।

कोइरालाले दिप्सन कृषि फार्म दर्ता गरेर सानाठूला १९ वटा गाईपालन गरेका छन् । उनले पशुपालन व्यवसायबाट एक परिवारलाई स्थायी रूपमा रोजगारी दिएका छन् । पशुपालन व्यवसायबाट वार्षिक १० लाख आम्दानी गर्न सफल भएको कोइरालाले सुनाए ।

विसं २०७५ मा फार्म दर्ता गरी व्यावसायिक रूपमा गाईपालनको सुरूवात गरेको उनी बताउँछन्। कोइरालाले सुरूमा एक लाखको लागतमा दुईवटा उन्नत जातको गाई र दुई बोका खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फार्ममा गाई तथा बाच्छाबाच्छी गरी १९ चौयापा छन् । तीमध्ये आठ गाई दुहुना छन् । गाईले दैनिक ६५ लिटरसम्म दूध दिने गर्छ ।

दूध इन्द्रपुर दुग्ध सहकारीमा बिक्रीका लागि लैजाने गरिएको कोइरालाले उल्लेख गरे । अहिले दूध बिक्रीका लागि बजारमा कुनै समस्या नरहेको बताउँदै उनले सुन्दरहरैँचामा अहिले दूध प्रतिलिटर ८० र दही एक सयमा बिक्री हुने गरेको जानकारी दिए ।

गाईपालन गरेपछि गाउँका स्थानीयवासीले पनि शुद्व दूध, दही खान पाएको कोइरालाको भनाइ छ । एक लाखको लगानीबाट सुरू गरेको कोइरालाको फार्ममा अहिले ५० लाखको लगानी पुगेको छ । पशुपालनको आम्दानीबाटै यो लगानी बढाउन सफल भएको उनको भनाइ छ । कोइरालाले पशुपालन व्यवसायलाई थप मजबुत बनाउन दुई सय स्थानीय कुखुरा तथा १२ वटा खसी बाख्रा पालनसमेत गरेका छन् ।

उनले दुग्धजन्य पदार्थ, कुखुरा, मल र अन्न बिक्रीबाट आम्दानी गर्न सफल भएको बताए । विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहे पनि पशुपालनबाट रोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन व्यवसाय सुरू गरेको कोइरालाले सुनाए । धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेकोले यसको अन्त्य हुनु जरूरी रहेको कोइरालाले बताए । स्वदेशमै मन लगाएर पशुपालन गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ ।

आफूले काम गर्ने अस्पताल घरदेखि नजिकै रहेकाले बिहान बेलुकाको समय मिलाएर तथा बिदाको दिनमा पशुपालनमा रमाउने गरेको कोइरालले उल्लेख गरे । परिवारका सदस्यले समेत उनको कामलाई सघाइरहेका छन् । कोइरालाले डेढ बिघा जग्गामा फार्म सञ्चालन गरेका छन् । पशुपालनका लागि घाँस, पराल आफ्नै जग्गाबाट उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

अहिलेसम्म सरकारी निकायबाट गोठ सुधारको लागि समान्य सहयोग पाएको तथा पाउनुपर्ने खालको सहयोग र अनुदान कतैबाट नपाएको कोइरालले उल्लेख गरे । कम लगानी र छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै कोइरालाले अहिले फार्ममा विभिन्न ठाउँबाट पशुपालन अवलोकन गर्न, दुग्धजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेको सुनाए ।

पशुपालन र कृषि पेसाबाट आम्दानी गरी परिचित हुनुभएका कोइरालाले गोबर ग्यास जडान गरी खाना पकाउने तथा लेदोमलबाट कृषि उत्पादन बढाउन सफल भएका छन्। पढेलेखेका युवा पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न सकिने उनको सुझाव छ ।

उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गरेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने कोइरालाको अनुभव रहेको छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गरी असली किसानलाई सरल रूपमा ऋणपानको व्यवस्था र अनुदानको सुविधा हुनुपर्ने कोइरालाले बताए ।

सुन्दरहरैँचा नगरपालिकाका पशुपक्षी शाखा प्रमुख किशोरकुमार कार्कीले नगरपालिकाले यो वर्ष पशुपक्षीको लागि राम्रो बजेटको व्यवस्थापन गर्न नसकेको स्वीकारे । उनले बजेटको व्यवस्थापन गर्न नसके पनि पशुपक्षीको लागि नगर भेटनरी अस्पताल स्थापनाको प्रक्रियामा अगाडि बढेको उल्लेख गरे। उनले अघिल्लो वर्ष नगरपालिकाको तर्फबाट गोठ सुधारको लागि व्यावसायिक फार्म सञ्चालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिएको जानकारी दिए । रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments