निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना

चितवन:जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठ जना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन् ।

तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति छ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँच पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा एक करोड पाँच लाख ५१ हजार छ सय २४ राहत प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सय पटक पुर्याएको तिवारीले बताउनुभयो ।

त्यस वर्ष निकुञ्जले दुई करोड दुई लाख दुई हजार आठ सय ४४ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् । रासस 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments