प्रभावकारी बन्दै ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम

गण्डकी:पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा ‘सिक्टस ग्रिनिङ’ (सुन्तलामा लाग्ने रोग, जसले उत्पादन घटाउँछ) सङ्क्रमणका कारण एक दशक अघि खेती सखाप भएको थियो ।

यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने अहिले पनि सुन्तला खेती गरिँदै आइएको छ । यहाँका सुन्तलामा असिनाका कारण क्षति पुगे पनि अन्य रोगजन्य सङ्क्रमण भने देखिएको छैन ।

सुन्तला भएका स्थानलाई लक्षित गरी पोखरा महानगरपालिकाले यहाँको वडा नं २१ र २२ मा चार वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कार्यक्रमसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको उनले बताए ।

कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान प्राप्त गर्नका लागि किसानले मलखाद, बोडो पेस्ट, बोडो मिक्स्चर स्प्रे गरी छापो प्रयोग गर्नुपर्दछ । अघिल्लो वर्षसम्म उक्त प्रक्रिया पूरा गरेका किसानलाई प्रतिबोट एक सय उपलब्ध गराएको महानगरले यस वर्ष प्रतिबोट एक सय ५० उपलब्ध गराउने भएको छ ।

आवश्यक प्रक्रिया पूरा गर्नका लागि ३५ दिने समयावधिसहित माघ मसान्तसम्म समय दिएर सूचना निकालिएको जानकारी दिँदै कडरियाले प्राप्त निवेदन अनुसार आवश्यक मापदण्ड पूरा गरेका किसानलाई अनुगमन पश्चात् सहयोग उपलब्ध गराइने जानकारी दिए । यसवर्ष लगभग २५ हजार बोटका लागि प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए ।

उक्त कार्यक्रम लागू भएपछि सुन्तला उत्पादनमा पनि वृद्धि भएको किसान बताउँछन् । असिनाको प्रकोप व्यहोर्न नपर्ने हो भने यस क्षेत्रमा सुन्तलाबाट मनग्य आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष किसानलाई लगभग २५ लाख प्रोत्साहन अनुदान उपलब्ध गराइएको प्रमुख कडरियाले जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?