पशुपन्छी स्वास्थ्य शिविरबाट दुई हजार किसान लाभान्वित

गोरखा, २१ चैत : पालुङटार नगरपालिकाले सञ्चालन गरेको निःशुल्क पशुपन्छी स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब दुई हजार किसान लाभान्वित भएका छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडावडामा सञ्चालन गरेको शिविरबाट नगरक्षेत्रभित्रका एक हजार आठ सय ५९ किसान लाभान्वित भएको नगरपालिकाको पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

शिविरमा किसानले पाल्दै आएका पशुपन्छी र घरपालुवा जनावरमा आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि उपचारका गर्नाका साथै बिरामी पशुपन्छीको उपचार गरिएको हो । पशुपन्छीहरुमा आन्तरिक तथा बाह्य परजीवीका कारण २५ प्रतिशतसम्म उत्पादनमा कमी आउने उहाँको भनाइ छ ।

“नगरपालिकाभित्र बढी पशुपन्छी पालन गरिएका क्षेत्रलाई लक्षित गरी विभिन्न १० स्थान छनोट गरी शिविर सञ्चालन गरिएको थियो”, नगरपालिकाका पशु चिकित्सक डा सुरज मरहट्टाले भन्नुभयो, “शिविरमा उपचारका लागि आफ्ना पशुवस्तु ल्याउनका प्रत्येक वडामा एक हप्ताअघि सूचनामार्फत प्रचारप्रसार गरी शिविर सञ्चालन गरिएको हो ।”

शिविरमा पशुमा देखिएका समस्याको पहिचान, सामान्य शल्यक्रिया, गोरु, बोकाहरुको बन्ध्याकरण गर्नाका साथै कुकुर, बिरालोमा एन्टीरेविजविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो । त्यस्तै, किसानलार्ई आफ्ना घरपालुवा पशु र पन्छीमा लाग्नसक्ने रोग, रोगको पहिचान तथा प्राथामिक उपचारमार्फत निराकरण गर्न सकिने उपायलगायत बारेमा समेत जनचेतना प्रदान गरिएको डा मरहट्ठाको भनाइ छ ।

शिविरमार्फत नगरक्षेत्रभित्र रहेका करिब १७ हजार गाईगोरु, बोकाबाख्रा, राँगाभैँसी, बङ्गुरलगायत पश र नौ हजारभन्दा बढी पन्छीलाई निःशुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै, शिविर सञ्चालन गरी दुई सय ५० भन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको नगरपालिकाले जनाएको छ ।

शिविरमा वडा नं १ मा एक सय २७, वडा नं २ मा दुई सय, वडा नं ३ मा एक सय, वडा नं ४ मा एक सय तीन, वडा नं ५ मा ९६, वडा नं ६ मा एक सय ७५, वडा नं ७ मा एक सय ९७ र वडा नं ८ मा दुई सय १० किसान लाभान्वित भएका छन् । त्यस्तै, वडा नं ९ मा एक सय ६७ र वडा नं १० मा एक सय ६१ किसानले शिविरबाट लाभ लिएको उहाँको भनाइ छ । विभिन्न वडामा गरी तीन सय २३ किसानले आफ्ना घरपालुवा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाएको नगरपालिकाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments