दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान

कञ्चनपुर, २६ चैत : उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।

आधुनिक किसिमले बगरमा उखुखेती गर्नका लागि पुनर्वास– १, ७ र ९ का किसानलाई विपद् व्यवस्थापन समितिमार्फत रोटाभेटर, ट्रेन्च, हैरो, राजा हललगायत कृषि औजार वितरण गरिएको हो ।

दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई बगरमा उखुखेती गर्नका लागि जिल्लास्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजाले कृषि औजार वितरण गरेको हो । समाजकल्याण शङ्का कार्यकारी निर्देशक अशोकविक्रम जैरु र नगरपालिकाका प्रमुख तोयराज शर्माले संयुक्तरुपमा कृषि औजार वितरण गर्नुभयो ।

कार्यकारी निर्देशक जैरुले उखुखेतीमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन, लागत खर्च कम गर्न, कम श्रममै उखुको बढी उत्पादन लिनका लागि किसानलाई कृषि औजारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले समुदायको मागका आधारमा ५० प्रतिशतसम्म लगानी गरिने उहाँको भनाइ छ ।

नगर प्रमुख तोयनाथ शर्माले पालिकाले उखुको उत्पादनमा वृद्धि गर्न चालु आर्थिक वर्षमा परियोजनासँग समन्वय गरी अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो । “योसँगै कृषि उत्पादनमा वृद्धि गर्न पालिकाले सिँचाइमा विशेष जोड दिएको छ”, उहाँले भन्नुभयो, “साना तथा न्यूनआयस्तर भएका बाढी प्रभावित किसानले सहजरुपमा साना सिँचाइ तथा कृषि औजारको प्रयोग गरी आधुनिक उखुखेतीका माध्यमबाट आयआर्जन वृद्धि गर्न सक्नेछन् ।”

परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार बगरमा उखुखेती गर्ने पुनर्वास–१ भकुण्डा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर, गणेश बस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान ट्रेन्च, वडा नं ७ को उग्रतारा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान राजाहल वितरण गरिएको छ ।

साथै वडा नं ७ का शिवशक्ति सामुदायिक विपद् व्यवस्थापन समिति परासनलाई एक थान हैरो र वडा नंं ९ सीताबस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर अनुदानमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

“परियोजना र विपद् व्यवस्थापन समितिले कृषि औजार खरिदमा रु चार लाख ९६ हजारको साझेदारी गरेका छन्”, अधिकृत घिमिरेले भन्नुभयो, “परियोजना र समितिहरुले औजार खरिदमा ५०/५० प्रतिशतका दरले रकम व्यहोरेका छन ।”

बगर क्षेत्रमा आधुनिक उखु खेतीलाई प्रवर्द्धन गर्नका लागि चिनिमिल र कृषि विकास शाखासँग समन्वय गरी उपयुक्त जातका बिउ छनोट, उन्नत रोपण प्रविधि, बिउ उपचार, रोग तथा किरा व्यवस्थापनमा एमरेड परियोजनाले प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?