गलकोटका छ सामुदायिक वनमा आगलागी, ३० बस्ती उच्च जोखिममा

ढोरपाटन (बागलुङ), २७ चैतः गलकोट नगरपालिका अन्तर्गतका छ वटा सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण यहाँका करिब ३० बस्ती उच्च जोखिममा परेका छन् ।

गलकोट–२ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ को पालेवन सामुदायिक वन, ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन वडा नं ८ को मकैखोरी वनमा आगो लागेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

किटेनी सामुदायिक वन र शिलाजित मधुवनमा लागेको आगो नियन्त्रणमा लिए पनि अन्य चार वटा सामुदायिक वनको आगो नियन्त्रण बाहिर रहेको उहाँको भनाइ छ । स्थानीयवासीको लापरबाहीका कारण आगलागी भएको भन्दै नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

यही चैत २५ गते दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआउँदा ठूलो क्षेत्रफलको वन सखाप भएको उहाँको भनाइ छ । गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले आगोले ठूलो रुप लिन थालेपछि बस्ती जोखिममा परेको बताउनुभयो ।

वनमा लागेको आगो बस्तीतर्फ पस्न थालेपछि सोमबार राति १० बस्तीलाई सुरक्षित स्थानमा सारेको भन्दै अझै करिब ३० बस्ती उच्च जोखिममा रहेको उहाँको भनाइ छ । गलकोट नगरपालिका–८ र ९ मा लागेको आगोले ज्यामिरे, मल्म, तारगा गाउँका धेरै बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

स्थानीयवासीले नियन्त्रण गर्न नसकेपछि आगो बस्तीमा पस्न थालेको उहाँले बताउनुभयो । वनमा सुकेको पात, घाँस र दाउरा भएको हुँदा आगोले ठूलो रुप लिएको अध्यक्ष थापाको भनाइ छ । दमकल नहुँदा आगो नियन्त्रणमा समस्या भएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म मानवीय क्षति भने नभएको थापाको भनाइ छ ।

“आइतबारदेखि लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन, नियन्त्रणमा लागि धेरै प्रयास गरियो तर सफल हुन सकेका छैनौँ, हिजो राति सालघारी टोलसहित १० बस्तीलाई सुरक्षित स्थानमा सारेका छौँ”, उहाँले भन्नुभयो, “आगो निभाउने सम्भावना छैन, अहिलेसम्म कुनै पनि मानवीय क्षति हुन दिएका छैनौँ, दमकलको सुविधा छैन, मान्छेले नियन्त्रण गर्न सकिने अवस्था छैन, यही रुपमा आगो बढ्दै गयो भने धेरै गाउँका बस्ती जल्ने खतरा बढेको छ, यो हाम्रो नियन्त्रण बाहिर भयो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?