असिनाले सुन्तलामा क्षति पुर्‍याएपछि किसान चिन्तित

पर्वत, ३ वैशाख : लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा असिनाले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

शनिबार दिउँसोदेखि लगातार एक घण्टासम्म परेको असिनाले फल लाग्न थालेका सुन्तला पूरै झारेर नष्ट गरेको स्थानीय किसान दाताराम चापागाईंले बताउनुभयो । यहाँका झण्डै दुई सय किसानले लगाएका सुन्तलाखेती एकैछिनको असिनाले सखाप बनाएको उहाँले बताउनुभयो ।

यहाँका कृषकले वार्षिक रु पाँचदेखि रु आठ करोडसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । एक वर्ष धेरै उत्पादन भए अर्को वर्ष कम उत्पादन हुने सुन्तला खेतीबाट लगातार दुई वर्ष नोक्सानी व्यहोर्नु परेको चापागाईंले बताउनुभयो । “अघिल्लो वर्ष पनि सुन्तलामा फल लाग्नेबेला आएको असिनाका कारण यहाँका किसानले करिब रु चार करोड भित्र्याएका छन् । यस वर्ष पनि फल लाग्ने बेला असिना पर्‍यो”, उहाँले भन्नुभयो ।

अहिले पनि सुन्तलाको फूल र बतिला सबै झारेर नष्ट गरिदिएकाले आगामी वर्ष आम्दानी ह्वात्तै घट्ने सम्भावना बढेको किसान प्रकाश चापागाईंले बताउनुभयो । उहाँका अनुसार पानीसँगै परेको असिनाले सुन्तलासँगै खेतबारीमा भर्खरै उम्रिएका मकै, लहरे तरकारीबाली र अन्य व्यावसायिकरुपमा लगाइएको काउली, बन्दा, सिमी, केराउलगायत तरकारीमा क्षति पु¥याएको छ ।

दुई साताअघि नेपालकै स्वादिलो रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा पनि असिनाले क्षति पुर्‍याएको थियो । फल लाग्न फुलेका सुन्तला र मुनाहरु पूरै झारेर नष्ट गरिदिएको थियो भने आलु, गहुँ, तोरी र जौ खेतीमा समेत क्षति पु¥याएको थियो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले शनिबार परेको भिषण वर्षासँगैको असिनाले मोदी गाउँपालिकाका विभिन्न वडामा लगाइएको सुन्तला तथा हिउँदे बालीमा क्षति पुर्‍याएको जनाएको छ ।

मोदीका देउपुर, बाजुङ, भुकताङ्ले, तिलाहार, राम्जा, चित्रेलगायत क्षेत्रमा असिनाले क्षति पुयाएकामा बढीमात्रामा सुन्तलाखेतीमा असर गरेको ज्ञान केन्द्र प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन भइरहेका विस्तृत विवरण भने आउन बाँकी रहेको बताउनुभयो । फल लाग्ने बेलामा असिनाले झारेपछि उत्पादनमा कमी आउन सक्ने उहाँको भनाइ छ ।

लामो समयको खडेरीपछि यस क्षेत्रमा वर्षा भएको थियो । वर्षासँगैको चट्याङमा परी मोदी–१ भुकदेउराली र वडा नं ७ राम्जादेउरालीमा गरी दुई जनाले ज्यान गुमाएका छन् भने बालीनालीमा समेत क्षति भएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । चट्याङ र असिना पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि केही राहत दिने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments