पशुपालनबाट आम्दानी

अत्तरिया (कैलाली), ३ वैशाख : कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थाल्नुभएको छ । अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन र दूध बेच्नमै बित्ने उहाँ बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म पशुपालानमै व्यस्त रहनुहुन्छ ।

विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपन्छीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यवसायिक पशुपालनमा लाग्नुभएका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई र एउटा भैँसी पाल्नुभएको छ ।

उहाँले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर रु ९० मा बिक्री हुन्छ ।” चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उहाँले बताउनुभयो । दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत गरेको उहाँको भनाइ छ ।” रु नौ लाख ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गर्नुभएका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिनुभएको छ ।

“पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै जग्गामा गोठ बनाएको छु । घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु ।”

कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउनुहुन्छ । “मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ । कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो र घरखर्च चलाउन सकिएन”, उहाँले भन्नुभयो, “त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै छ ।”

उहाँले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन र तरकारीखेती पनि गर्नुभएको छ । ३५ वटा स्थानीय जातका कुखुरा पाल्नुभएको छ । सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए र औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उहाँको भनाइ छ ।

पछिल्लो समय गाईभैँसीपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा दूध उत्पादन बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी कविराज कठायतले बताउनुभयो ।

उहाँले जिल्लामा वार्षिक ८३ हजार छ सय ४३ लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । केन्द्रले गाईभैँसीपालन गर्ने किसानलाई गोठ निर्माणलगायतमा ५० प्रतिशत अनुदान दिने गरेको उहाँले बताउनुभयो

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments