सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना

मुग्लिन(चितवन), ३ वैशाखः इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा विरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्याहरु पत्ता लगाई निराकरणको उपाय खोजी गर्नेे, माटो परीक्षण गराउनेलगायतका काम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि सुन्तलाको विरुवा र कृषि सामग्री वितरण गरिने उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि कृषकहरुलाई कृषि सामग्री, विरुवाहरु अनुदानमा उपलब्ध गराउँदै आइरहेका छौँ, चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दैछौँ ।” सुन्तला कृषकका लागि बगैँचा व्यवस्थापन गर्न आवश्यक पर्ने औजार ५० प्रतिशत अनुदानका लागि भने कृषकहरुसँग सम्झौताको चरणमा रहेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा रु १५ लाख बराबरको सुन्तलाको विरुवा अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका कार्यालयले सुन्तलाको बेर्ना अनुदानमा प्राप्त गर्नका लागि निवेदन दिन आग्रह गरेको छ । सुन्तलाखेती प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले गत पुसमा तीन दिन सुन्तला महोत्सव समेत सम्पन्न गरेको थियो ।

कृषि शाखा प्रमुख आशीष त्रिपाठीका अनुसार अनुदानका कार्यक्रमहरु सञ्चालनसँगै सुन्तलाखेती गर्ने क्षेत्र बढ्दै गएको छ । चालु आवमा ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । गत आवमा यहाँ ७० हेक्टर क्षेत्रफल सुन्तलाखेती गरिएको थियो । सो आवमा वडा नम्बर ५ मा पाँच हजार एक सय विरुवा अनुदानमा वितरण गरिएको थियो । अनुदानमा विरुवा वितरणपछि सुन्तालाखेती गर्ने क्षेत्र बढेको हो ।

यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले रु १० करोड हाराहारीमा आम्दानी गरेको कृषि शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । किसानले प्रति केजी रु ७० देखि ८० सम्ममा सुन्तला बिक्री गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर ३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला स्थानीय स्तरमा बिक्री हुनुका साथै नारायणगढ, काठमाडौँ र पोखरालगायत सहरमा समेत जाने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?