बेमौसमी तरकारीमा विषादीको मात्रा अत्याधिक

राँझा (बाँके), १५ वैशाख ; नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ । भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिनुभयो ।

“यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको सागमा विषादीको अत्याधिक मात्रा देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिक रुपमा नमुना परीक्षण गर्ने क्रममा रायो भाजीको सागमा खाना अयोग्य हुने गरी विषादीको अवशेष भेटिएको थियो ।”रानी तलाउ तरकारी बजारमा गरिएको नमुना परीक्षणमा रायो भाजीको सागमा अर्गानोफस्फेटको इन्हिविशन पर्सेन्टेज (रूकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी पाइएको छ । यो मात्रामा विषादी अवशेष भएको तरकारी खान अयोग्य मानिन्छ ।

केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक चौधरीका अनुसार केही नमुनामा रुकावट प्रतिशत ३५ देखि ४५ सम्म भेटिएको छ । यस्तो तरकारीलाई चार÷पाँच दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी विषादीको मात्रा कम भए खान हुन्छ । बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिएको प्रयोगशालाको रिपोर्टले देखाएको छ ।

पुस माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गर्ने हुनाले बेमौसमी तरकारीमा विषादीको अवशेष देखिने गरेको चौधरीले बताउनुभयो । विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने उहाँको भनाइ छ ।

भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमुना परीक्षण गर्ने गरिएको छ । रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिक रुपमा परीक्षण हुने गरेको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।नमुना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरेको उहाँको भनाइ छ । बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?