‘सहरमा जनसङ्ख्या थुप्रिने र गाउँका जमिन बाँझो रहने अवस्था आयो’

देउखुरी (दाङ), १७ वैशाख : नीति निर्माण र बजेट बनाउँदा भौगोलिक विकटतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना, द एसिया फाउन्डेसनको सहकार्य र अपिल मिडिया प्रालिको समन्वयमा नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

दाङको भालुबाङमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पहाडका जिल्लाबाट तराईमा बसाइँसराइ तीव्र रुपमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ विज्ञले बसाइँसराइका कारणबारेमा अध्ययन गर्नुपर्छ । सुविधा र सेवा गाउँमा पुगिरहेको छ तर मानिस बसाइँसराइ गरेर सहरमा जाने क्रम बढिरहेको छ । गाउँमा जनसङ्ख्या पातलो भएको छ । ”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तथ्याङ्क उपप्रमुख डा हेमराज रेग्मीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोग विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले तथ्याङ्कका आधारमा देशका नागरिकको अवस्थाका बारेमा जानकारी हुने र त्यसका आधारमा नीति प्रक्रिया, योजना बनाउन, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना र अध्ययन÷अनुसन्धानका लागि तथ्याङ्क आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनगणना २०७८ का नतिजा र लुम्बिनी प्रदेशका १२ जिल्लाको जनगणना २०७८ का बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय जनसङ्ख्याविज्ञ पूर्वमहानिर्देशक नेविनलाल श्रेष्ठले तथ्याङ्कले देशको अवस्थाका बारेमा जानकारी हुने बताउनुभयो । यसले नेपालीको जीवनमा पक्षहरु जनसङ्ख्याको आकार, प्रकार, संरचना, वितरण तथा विश्लेषण, आर्थिक अवस्था आदिका बारेमा चित्रण हुने छ भन्नुभयो ।

लुम्बिनी प्रदेशका सभासदस्य रामजीप्रसाद घिमिरेले जनसङ्ख्या जहाँ धेरै छ त्यहाँ विकासका योजना धेरै लगिने गरिन्छ यसो नगरी विकास नपुगेका स्थान वा भूगोललाई पनि समेट्न जोड दिनुभयो । उहाँले सहरमा जनसङ्ख्या केन्द्रित गर्ने नीति राख्न हुँदैन भन्नुभयो । सहरमा जनसङ्ख्या थुप्रिने र गाउँघरका जमिन बाँझो रहने अवस्था आएको बताउनुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले गाउँगाउँमा बाटो, शिक्षा र स्वास्थ्यको सुविधा पुगेको छ तर मानिस रोजगारी वा अन्य सुविधाका लागि बसाइँ सर्ने गरेका छन् भन्नुभयो । सभासदस्य वीरबहादुर राणाले योजना बनाउँदा पूर्वतयारी गरेर बनाउन र बसाइँसराइलाई रोक्नका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश नीति तथा योजना आयोगका सचिव खिमबहादुर कुँवरलगायतले आफ्नो धारणा राख्नुभएको थियो । द एसिया फाउन्डेसनका निर्देशक प्रणय स्थापितको अध्यक्षतामा कार्यक्रम भएको थियो । अपिल मिडिया प्रालिका अध्यक्ष चेतन अधिकारी र वरिष्ठ पत्रकार शेखर अधिकारीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगका बारेमा चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments