बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

मुग्लिन (चितवन), १८ वैशाख : चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँझो जमिनलाई सदुपयोग गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेछौँ ।” बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ । किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ । कार्यक्रमअनुसार साना सिचाँइका लागि अनुदान प्रदान गर्न लागिएको हो ।

बाँझो जग्गामा खेती गर्ने किसानलाई सिँचाइ र कृषि औँजारमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकामा रहेका बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरी थप अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाभर कति बाँझो जग्गा छ, तथ्याङ्क सङ्कलन गर्दैछौँ, सोही आधार आगामी आर्थिक वर्षमा अनुदानका थपका कार्यक्रम सञ्चालन गर्ने छौँ ।”

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालिको राम्रो उत्पादन हुन्छ । तर पछिल्लो समय किसानले यी बालीको खेती गर्न छाडेका कारण प्रोत्साहनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख त्रिपाठीको भनाइ छ । अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उहाँको विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments