किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन्।

कञ्चनपुर, १८ वैशाख : बेलौरी नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ ।

नगरपालिकाको कृषि शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वसन्ते मकैखेती गर्दै आएका किसानलाई बसन्ते मकैको बीउ, कृषि औजार सामग्री, मेसिनलगायत उपलब्ध गराइएको हो । नगर प्रमुख पोतिलाल चौधरीले वडा नं ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत सामग्री किसानलाई वितरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार किसानलाई वसन्ते मकैखेती प्रवद्र्धनमा टेवा पुर्याउनका लागि पाँच क्विन्टल मकैको उन्नत बीउ, सिँचाइका लागि पाँचवटा विद्युतीय मोटर, खेतबारी जोत्नका लागि आठवटा मिनी टिलर, एक कल्टिभेटर, एक रोटाभेटर, मकैको दाना बनाउने कम्बाइ मेसिन एक र कर्न सेलर एक उपलब्ध गराइएको छ ।

यसैगरी, मकैको बीउ भण्डार गर्न सहजताका लागि ड्रम दुई, डेलभिरी पाइप तीन क्विन्टल, स्प्रे टङ्की चार थान किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले किसानलाई उपलब्ध गराएको कृषि सामग्री खरिदका लागि रु नौ लाख ७५ हजार रकम खर्च गरेको छ । त्यतिकै रकम अनुदान लिने किसानले व्यहोरेका छन् ।

“किसानलाई व्यावसायिक खेतीप्रति प्रोत्साहित गराउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “प्रत्येक वर्ष विभिन्न बाली र तरकारीखेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई हौसला दिने कार्य हुँदै आएको छ ।” अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन मद्दत पुर्याएको उहाँको भनाइ छ । नगरपालिकाका अनुदान पाउने किसानले २० बिघा बढी जग्गामा बसन्ते मकैखेती गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments