तीन लाख ४० हजार पशु चौपायालाई खोप

पशुमा पूर्ण खोप

अत्तरिया (कैलाली), १९ वैशाख : कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रालगायत पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ६४ हजार सात सय ८० गाईगोरु र ४७ हजार नौ सय २० भैँसीराँगालाई खोरेतविरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक लाख ८४ हजार भेडा बाख्रालाई पिपीआर, २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर र २३ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सोही अभियानका क्रममा धनगढी उपमहानगर, टीकापुर र भजनी नगरपालिकामा १५ हजार पशुलाई रानी खेत खोप पनि लगाइएको उहाँले जानकारी दिनुभयो ।

चालु आव २०८०÷८१ मा दुई लाख ५० हजार खोरेतविरुद्धको खोप, दुई लाख पिपीआर, २४ हजार क्लासिकल स्वाइन फिवर र एक लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिनुभयो ।

लम्पी स्किनविरुद्धको खोप भने अभाव रहेको उहाँले बताउनुभयो । “खोप लगाउन जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिनुभएको छ, हामी निरन्तर अभियानमा छौँ”, उहाँले भन्नुभयो, “यही वैशाख मसान्तभित्रै खोप लगाइसक्ने लक्ष्य छ ।” अघिल्ला वर्षहरुभन्दा यस वर्ष खोप अभियानमा किसानको सहभागिता राम्रो रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments